फेरि होला लकडाउन ? यस्तो छ विज्ञको राय

Banner Second टप फिचर समाचार स्वास्थ्य

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको १ वर्ष पूरा भएको छ ।

सरकारले ठीक १ वर्षअघि चैत ११ गतेदेखि १ साताका लागि लकडाउन गरेको थियो । तर त्यसको अवधि थपिँदै लगिएको थियो ।

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन् । ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ,’ निर्देशक डा. राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ । ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन । संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ,’ उनी भन्छन् ।

गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पुर्‍याएको विज्ञको भनाइ छ । तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहोर्‍याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ ।

‘गत वर्ष विकसित मुलुकबाट स्वदेश फर्कनेको पीसीआर रिपोर्ट अनिवार्य गरियो । भारतबाट घर फर्कनेलाई पीसीआर रिपोर्ट विना हुरुरु छिर्न दिइयो । घर पठाइयो,’ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘यही दोहोरो मापदण्डले कोरोना संक्रमण बढ्यो। लकडाउन घोषणाको अवस्था आयो ।’

कोरोना संक्रमणको १ वर्ष पूरा भइसक्दा पनि जोखिम उस्तै छ । भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित हुन पुगेका छन् । सवा लाखमा झरेको सक्रिय संक्रमितको संख्या झण्डै ४ लाख पुगेको छ ।

नेपाल–भारत नाकाबाट निर्बाध आवतजावत भइरहेको छ । कोरोना संक्रमणलाई देखाएर लकडाउन घोषणा गर्न नहुने डा. मरासिनी बताउँछन् । विगतको गल्ती सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना नरहेको बताउँछन् । ‘एन्टिजेन परीक्षण र घरमा बस्न नसक्नेलाई क्वारेन्टीनको व्यवस्था गरिएको छ,’ प्रवक्ता डा. गौतम भन्छन्, ‘तत्कालै लकडाउनको योजना छैन । जनस्वास्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ । संक्रमण बढेकाले भौतिक दूरी कायम गर्नुपर्छ । मास्क लगाउनुपर्छ । साबुनपानीले राम्रोसँग हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।’

नेपालमा पनि संक्रमण बढ्न सक्ने हुँदा देशभर भीडभाड हुने कार्य नगर्न/नगराउन अनुरोध गरिएको डा. गौतम बताउँछन् ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *