सरकारको योजना फगत कागजमा मात्र सिमित हुँदा कृषि क्षेत्र उँभो लाग्न सकेन

कृर्षि टप फिचर विचार समाज सम्पादकीय

राजेन्द्र गजुरेल

नेपाल कृषिप्रधान देश हो । वास्तविक तथ्याङ्क नभएपनि बिभिन्न अनुसन्धानलाई आधार मानेर हेर्दा मुलुकमा ७० प्रतिशत भन्दा बढी जनसंख्या कृषि तथा पशुपालन पेशा अगाल्दै आएका छन । तर, बिडम्बना नेपालीलाई पुग्ने खाद्यान्न,माछा,मासु, दाल, तरकारी, फलफूल जडीबुटी, औषधि लगाएत कुनै कुराको पनि उत्पादन पर्याप्त हुन सकेको छैन र आयातमा भर पर्नुपर्ने स्थिति छ ।

जापान, अमेरीका, जर्मनी, अष्ट्रेलिया, ब्राजिल लगाएतका देशहरूमा कृषिमा १०÷१५ प्रतिशत मानिसहरु मात्र सहभागि हुँदा पनि लगभग ५० प्रतिशत भन्दा बढी कृषिजन्य सामाग्रिहरू निर्यात गर्न सकेका छन् । त्यसबाट उनीहरूले मनग्य विदेशी मुद्रा आर्जन गर्न सकेका छन् । देशलाई आत्मनिर्भर बनाउन सकेका छन् । तर हामीचाहिँ किन सधैँ परनिर्भरतामा बाच्नु परेको छ त ? हाम्रो लागि यो असम्भव नै हो र १ हामी पनि हाम्रो देशलाई पुग्ने मात्र होइन विदेशै निर्यात गर्न सक्ने गरि कृषिमा उत्पादन बढाउन सक्दैनौँ ?

कृषी भनेको के हो ?
कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव(जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन।

नेपालमा कृषीको वर्तमान अवस्था कस्तो छ ?

कृषिमा सरकारको नीतिगत व्यवस्था

नेपालमा हरेक साल नीति तथा कार्यक्रम बन्दा तथा सरकारले बजेट बिनियोजना गर्दा कृषिलाई उच्च प्राथमिकतामै राखेको छ । कृषिमा आधुनिकीकरण र सहुलियत ऋणको कुरालाई पनि त्यत्तिकै जोड दिएको देखिन्छ । तर सरकारको योजना फगत कागजमा सिमित हुँदा कृषि क्षेत्र उँभो लाग्न सकेको छैन । सरकारका योजना हरेक कृषकको घरआँगनमा आइपुगेको छैन ।

कृषकलाईं दिने भनेको सेवा र सुविधा पनि कृषि क्षेत्रका बिचौलिया र नेताहरूको अगाडि पछाडि लाग्नेले मात्र उपभोग गरिरहेका छन् । तर बास्तविक कृषक भने बिऊ बीजन समेत किन्न नसक्ने अवस्थाबाट गुज्रिरहनु परेको छ । उनीहरूले न त उन्नत बिऊ बीजन पाउन सकेका छन् नत उचित तालिम या परामर्श नै पाउन सकेको छन् ।

उही कुट्टो कोदालोको भरमा पुरातन खेतीप्रणालीबाट उनीहरू माथि उठ्न सकेका छैनन् । यसले निर्वाहमूखी अर्थतन्त्रलाई प्रस्रय दिइरहेको छ । यसबाट न उत्पादकत्व बढ्न सकेको छ न कृषि क्षेत्रमा नयाँनयाँ रोजगारीका अवसर सिर्जना गर्न सकिएको छ । यसबाट देशको ठूलो धनरासी कृषिजन्य सामाग्रिहरू आयातमै खर्च भइरहेको छ । यसबाट कृषिमै व्यापारघाटा उच्च बन्न पुगेको छ । यसको प्रमुख कारण भनेको राजनीतिक खिचातानी, जनस्तरमा चेतनाको कमी र सरकारको अक्षमता नै हो ।

परम्परागत कृषि प्रणलि
कृषिमा लागिरहेकाहरूले अहिले सम्म परम्परागत शैली छाड्न सकेको छैनन् । रहरले भन्दा बाध्यताले या जीवन धान्नकैको लागि मात्र कृषिमा आवद्ध हुनेहरूको संख्या अधिक छ । लाखौँ रुपैयाँका कृषि उपज उत्पादन हुने जग्गा बाँझो राखेर या धितो राखेरै भए पनि बैदेशीक रोजगारीको लागि युवाहरू धमाधम विदेसिइरहेका छन् । त्यो संख्या सरदर दुई हजारको हाराहारीमा रहेको छ । देशबाट पलायन भइरहेको यत्रो श्रमशक्तिलाई रोक्ने र स्वदेशमै श्रम र सीप पोख्न सक्ने बातावरण बनाउन राज्य सफल हुन सकेको छैन ।

यस विषयमा सरोकारवालाहरूको ध्यान जान सकेको छैन । जव सम्म कृषिक्षेत्रको विकासका लागि राज्यले एकीकृत विकासको खाका बनाउन सक्दैन तव सम्म देशबाट पलायन भएर जाने श्रम शक्ति रोक्न पनि सकिँदैन र देशको उत्पादकत्वमा पनि बृद्धि गर्न सकिँदैन । कोरा योजना र कागजी प्रतिवेदन मात्र बनाउने भन्दा पनि समग्र कृषि क्षेत्रको व्यवसायीकरणका लागि कृषि क्रान्तिमा जोड दिन निक्कै ढिला भइसकेको छ ।

अर्थतन्त्रमा संसारको ठुलो देश अमेरीका, चीन, जापान लगायतका देशहरूमा पनि बिकासको थालनी कृषिबाटै भएको हो । यसको सुरुवात १९ औँ शताब्दीमा अमेरीकाले गरेको हो र केही समयपछि जापानले एक गाँउ एक उत्पादन कार्यक्रम सुरुवात गरी कृषि क्षेत्रको व्यवसायिकरणमै जोड दिएको पाइन्छ । त्यसैको सिको गर्दै हाल चीन तथा दक्षिण कोरीयाले पनि कृषिमा आधुनिकीकरण र व्यवसायिकरणम जोड दिएको पाइन्छ । तर नेपालमा भने समग्र कृषि क्षेत्र अझै परम्परागत शैलीबाट माथि उठ्न सकेको छैन ।

कृषि प्रति युवाको गलत बुझाई
हामी दिन प्रतिदिन परनिर्भरता तर्फ उन्मुख हुँदैछौँ । प्रवेशिका उतिर्ण गर्दा नगर्दै परिवार पाल्नकै लागि विदेशिन पासपोर्ट बनाउने लाइनमा लाग्नु पर्ने हाम्रो बाध्यता कोही कसैले टार्न नसक्ने भइसकेको छ । नपढेका अदक्ष मात्र होइन पढेका र सीप भएका दक्षहरू पनि विदेशिनु पर्नु बाध्यता निर्मम बन्दै गइरहेको छ ।

स्वदेशमा उत्पादित जनशक्तिहरू स्वदेशमै खपत गराउने र त्यसलाई राष्ट्र विकाससँग जोड्न नसक्दा मुलुक उँधो गति तर्फ उन्मुख भइरहेको छ । अर्को तर्फ स्वदेशमा युवाहरू आफ्नो श्रम र सीप पोख्न निकै लजाउन थालेका छन् । खाडीमा ५० डिग्रि तापक्रममा पसिना बगाउँदै जस्तोसुकै काम गर्न पछि नपर्ने हाम्रा युवाहरू स्वदेशमा ढलेको लोहोटा उठाउन तत्पर छैनन् । एकातिर औद्योगिक करिडोरमा काम गर्ने कामदारहरू पाईदैनन् भने अर्को तर्फ कामका खोजिमा युवाहरू दिनहुँ पलायन भइरहेका छन् ।

कृषि क्षेत्रको व्यवसायिकता र औद्योगिकिरणको विकासका लागि युवाहरूलाई कृषि क्षेत्र तर्फ आकर्षित गराउनुको विकल्प देखिँदैन । त्यसका लागि कृषि क्षेत्रमा ऋण प्रवाह, सहुलियत प्रदान, उत्पादित बस्तु तथा सेवाको बजारिकरण, मलखाद तथा बिऊबीजनको उपलव्धता आदीमा राज्यले ध्यान पुर्याउनु पर्दछ । त्यस्तै कृषि शिक्षा, कृषकलाई उपर्युक्त तालिम, माटो परीक्षण रोग नियन्त्रण आदिमा पनि राज्यले उत्तिकै चासो देखाउने र कृषि क्षेत्रमा प्रवेशका लागि आकर्षित गराउनु पर्दछ । यसका लागि कृषिमा नीतिगत सुधार गरी छिट्टै युवालाई कृषि क्षेत्रमा प्रवेश नगराउने र दैनिक रुपमा पलायन भइरहेको श्रमशक्ति रोक्न चासो नदेखाउने हो भने देश विकास कोरा कल्पना मात्र हुनेछ यस तर्फ सरोकारवालाको छिट्टै ध्यान जाओस् ।

4 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
80 %
Angry
रिस
20 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *